काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभामा सञ्चालक समितिका अध्यक्ष रुपेश लुईटेलले २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरी १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
क्यापिटलले २०८३ असार मसान्तसम्म ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको जनाएको छ । त्यस्तै, म्युचुअल फन्ड सेवाअन्तर्गत ४ वटा बन्दमुखी र २ वटा खुलामुखी गरी ६ वटा योजनामार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरेको छ ।
लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकबाट ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको क्यापिटलले जनाएको छ । शेयर रजिष्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराउँदै आएको छ भने ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत २५ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको छ ।
साथै, दशौँ वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांशसमेत समेट्दा क्यापिटलले आफ्ना शेयरधनीलाई हालसम्म ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको अध्यक्ष लुईटेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया