काठमाडौं । बालुवाटारस्थित आकाश फुड्समा बजार अनुगमनका क्रममा म्याद गुज्रिएको लड्डुदेखि गन्ध आएको आलुसम्म भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले म्याद नाघेका आठ बट्टा लड्डु र पानीपुरीमा प्रयोग हुने आलुको स्टफिङ अस्वाभाविक गन्ध आएको अवस्थामा फेला पारेको हो ।
विभागले बिहीबार गरेको अनुगमनका क्रममा आकाश फुड्समा उत्पादन तथा खाद्य स्वच्छतासम्बन्धी विभिन्न कैफियत भेटिएपछि कारबाही गरिएको जनाएको छ । अनुगमनका क्रममा फ्राइंग तेलको टीपीएम भ्यालु समेत २३ पाइएको थियो ।
म्याद गुज्रिएका आठ प्याकेट लड्डु र गन्ध आएको करिब १०० ग्राम आलु नष्ट गरिएको विभागले जनाएको छ । यसैगरी आकाश फुड्सलाई खाद्य स्वच्छता कायम राख्न व्यवसायीलाई आवश्यक निर्देशनसमेत दिइएको विभागकी प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जानकारी दिइन् ।
यस घटनामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम आकाश फुड्सलाई ३ लाख जरिवाना गरेको छ।
डेरी पसलमा खुला दही–दूधदेखि अपूर्ण लेबलसम्म
सोही दिन गरिएको अनुगमनमा अन्य दुई खाद्य व्यवसायमा पनि कैफियत भेटिएको विभागले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१३, बाफलस्थित बाजेको डेरी पसलमा सरसफाइको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । पसलबाट खुला दही र दूध बिक्री–वितरण भइरहेको तथा उद्योगमा घ्यू उत्पादन हुने गरेको अनुगमन टोलीले जनाएको छ ।
त्यसैगरी, फ्रिजमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थसमेत भेटिएका थिए । यद्यपि उजुरीमा उल्लेख गरिएको विषय भने स्थलगत अनुगमनका क्रममा नभेटिएको विभागले जनाएको छ ।
विभागले पसललाई नियमित सरसफाइमा ध्यान दिन निर्देशन दिँदै थप अनुसन्धानका लागि दही तथा दूधको नमुना संकलन गरेको छ ।
सुजल डेरीमा अवस्था सन्तोषजनक
त्यसैगरी, चन्द्रागिरि नगरपालिका–३ मा रहेको सुजल डेरी प्रालिको अनुगमन गर्दा सरसफाइको अवस्था सामान्य रहेको पाइएको छ ।
उद्योगमा दूध प्रशोधन भइरहेको, प्रयोगशालाको अवस्था सन्तोषजनक रहेको तथा कर्मचारीको व्यक्तिगत सरसफाइ पनि सन्तोषजनक रहेको विभागले जनाएको छ। थप अनुसन्धानका लागि दूधको नमुना भने प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया