काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि जारी अभियानमा प्राविधिक सहयोग गर्न कुलमान घिसिङ आफ्नो टोलीसहित घटनास्थल पुगेका छन् ।
नेपाली सेनाले उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि बोलाएपछि आफूहरू चिलिमे पुगेको घिसिङले बताएका छन् ।
घिसिङसहितको टोलीले सुरुङभित्रको उद्धार कार्यलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा नेपाली सेनाको टोलीसँग छलफल गरिसकेको छ । छलफलपछि टोली अहिले कार्यस्थलमा परिचालन भइरहेको घिसिङले जानकारी दिए ।
घिसिङसँग चिलिमे आयोजनास्थलमा चार वर्ष प्रत्यक्ष बसेर काम गरेको अनुभव छ । नेपाल विद्युत् प्राधिकरणमा रहँदा पनि उनले करिब ८ देखि ९ वर्ष उक्त क्षेत्रसँग सम्बन्धित काम गरेका थिए ।
सुरुङको भौगोलिक तथा प्राविधिक अवस्थाबारे उनको अनुभव रहेकाले सेनाले उद्धार कार्यमा सहजीकरणका लागि बोलाएको हो ।
हाल सुरुङभित्र म्यानुअल रूपमा उद्धार कार्य भइरहेको छ । उद्धारलाई तीव्र बनाउन एक्सकाभेटर प्रयोग गर्ने निर्णयसमेत भएको छ ।
एक्सकाभेटर कार्यस्थलमा पुर्याउने काम भइरहेको र आज बेलुकासम्म वा भोलि बिहानसम्म सुरुङभित्र छिराएर उद्धार कार्य तीव्र पारिने घिसिङले बताएका छन् ।
उद्धार कार्यमा सेनाको टोलीसँग सहकार्य गर्न घिसिङसहितको प्राविधिक टोली भोलिसम्म घटनास्थलमै रहने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया