काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनका सहिदहरूले परिकल्पना गरेको नेपाल निर्माण गर्न सरकार सफल भयो कि भएन भन्दै प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभएको बताएका हुन् । आन्दोलन राजनीतिक संस्कार परिवर्तन, सुशासन र दण्डहीनताको अन्त्यका लागि भएको उनको भनाइ थियो ।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट भएको आगजनी तथा विनाशको घटना स्मरण गर्दै केसीले आन्दोलन जनतामा बढेको निराशा र तत्कालीन सरकारको दमनको परिणाम भएको बताए ।
उनले जेनजी सहिदप्रति श्रद्धाञ्जली दिएर मात्रै नपुग्ने बताए । सहिदहरूले परिकल्पना गरेको राज्य निर्माणका लागि काम भए नभएको समीक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
देशमा महँगी, मल र ग्यासलगायतका समस्या रहेको उल्लेख गर्दै केसीले भोटेकोसी बाढीपछि उत्पन्न संकटले सबैलाई एक ठाउँमा ल्याएको बताए । अहिलेको मुख्य प्राथमिकता प्राकृतिक विपत्तिबाट सिर्जित संकट व्यवस्थापन गर्नु रहेको उनले बताए ।
केसीले विपद्पछि पुनर्निर्माणका लागि गल्छीदेखि माथिल्लो क्षेत्रमा तत्काल पुल निर्माण गर्न सरकारलाई आग्रह गरे । उनका अनुसार पाँचवटा पुल आवश्यक भए पनि तत्काल सम्भव नभए कम्तीमा तीनवटा पुल अनिवार्य निर्माण गर्नुपर्छ ।
कनेक्टिभिटी सुधार भएपछि अन्य पुनर्निर्माण तथा विकासका काम गर्न सहज हुने भन्दै उनले सबै पक्षसँग सहकार्य गरेर परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया