काठमाडौं । भोटेकोशी बाढीका कारण सडक तथा राजमार्गमा क्षति पुगेपछि यात्रुको आवागमन सहज बनाउन बुध्द एयरले सस्तो भाडामा हवाई सेवा सञ्चालन गर्ने भएको छ ।
बुध्द एयरले राजमार्ग सञ्चालनमा नआएसम्म न्यूनतम भाडादरमा उडान गर्ने जनाएको छ । कम्पनीले दशैं, तिहार र छठसम्म सस्तो भाडादर कायम गर्ने घोषणा गरेको हो ।
बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सडकमार्ग सहज नहुँदासम्म यात्रुलाई हवाई यात्राको विकल्प दिन न्यूनतम भाडामा उडान गर्ने बताए ।
उनले प्राकृतिक विपत्तिका कारण सडक यातायात प्रभावित भएकाले हवाई सेवा यात्रुको आवागमन सहज बनाउने महत्वपूर्ण माध्यम भएको बताए । सस्तो भाडामा उडान गर्दा कम्पनीलाई आर्थिक भार परे पनि अहिलेको अवस्थामा निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, बुध्द एयरले नयाँ एटीआर–७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । उक्त जहाजले शुक्रबार बिहान काठमाडौं–नेपालगञ्ज पहिलो व्यावसायिक उडान गरेको हो । ६६ यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा नेपालगञ्जका लागि उडेको थियो ।
कम्पनीले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल ल्याएको थियो । आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि जहाजलाई व्यावसायिक उडानमा प्रयोग गरिएको हो ।
एटीआर–७२–६०० मा आधुनिक नेभिगेसन, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको कम्पनीले जनाएको छ । कम दृश्यता भएको अवस्थामा पनि उडान तथा अवतरणलाई सहज बनाउने आरएनपी–एआर नेभिगेसन प्रणालीसमेत जहाजमा रहेको छ ।
बुध्द एयरका अनुसार पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्य करिब दोब्बर भएको छ । फेब्रुअरीमा प्रतिलिटर १२७ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अगस्टमा २४९ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य बढे पनि सडक यातायात प्रभावित भएकाले यात्रुको सुविधालाई प्राथमिकता दिँदै भाडा घटाउने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
बुध्द एयरले केही समयभित्रै थप एउटा एटीआर–७२–६०० जहाज ल्याउने तयारीसमेत गरेको छ । हाल कम्पनीसँग १४ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० जहाज छन् ।
कम्पनीले आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौं–वाराणसी र काठमाडौं–कोलकाता उडान पनि सञ्चालनमा छन् ।
यसैगरी, बुध्द एयरले बाढी प्रभावित क्षेत्रका लागि राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्दै आएको जनाएको छ । अहिलेसम्म विभिन्न जिल्लाबाट ७ हजार ३२२ किलो राहत सामग्री निःशुल्क ढुवानी गरी सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
बुध्द एयरले सडक पूर्वाधारमा क्षति पुगेका कारण प्रभावित नागरिकको आवागमन सहज बनाउन आवश्यकताअनुसार हवाई सेवा सञ्चालनलाई प्राथमिकता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया