काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौं जाने यात्रु तथा चालकको चाप बढेसँगै हेटौँडामा निःशुल्क भोजन सेवा सुरु गरिएको छ ।
नागरिक समाज मकवानपुरको पहल तथा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा बिहीबारदेखि हेटौँडा–१ स्थित भाटभटेनी अगाडि निःशुल्क खाना वितरण सुरु गरिएको हो ।
धादिङको कृष्णभीरमा नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर यातायात अवरुद्ध भएको छ । त्यसपछि त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ ।
सडकको कमजोर अवस्था, एकतर्फी यातायात र लामो ट्राफिक जामका कारण यात्रु तथा चालक घण्टौँसम्म हेटौँडामा रोकिनुपर्ने अवस्था सिर्जना भएपछि राहतस्वरूप भोजन सेवा सञ्चालन गरिएको नागरिक समाज मकवानपुरले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गतको खाद्य तथा स्वच्छता क्लस्टर र नागरिक समाजबीच भएको छलफलपछि अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार सडकको अवस्था सामान्य भई सवारी आवागमन सहज नहुँदासम्म निःशुल्क भोजन अभियानलाई निरन्तरता दिइनेछ ।
दैनिक दुई चरणमा खाना वितरण गरिनेछ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म खाना उपलब्ध गराइनेछ । अभियानमार्फत दैनिक करिब ४ सयदेखि ५ सय जनासम्मलाई भोजन गराउने लक्ष्य राखिएको छ ।
स्थानीय रमिला सापकोटाका अनुसार सडक अवरुद्ध भएपछि त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने यात्रुले बाटोमा सहज रूपमा खाना पाउन नसक्ने अवस्था भएकाले हेटौँडामा खाना खुवाएर पठाउने व्यवस्था गरिएको हो ।
पैसा हुँदा पनि खाना नपाउने परिस्थिति आउन सक्ने भएकाले यात्रुको सहजताका लागि अभियान सुरु गरिएको उनले बताए ।
नागरिक समाजकी सापकोटाका अनुसार लामो दूरीका बसका यात्रु, एम्बुलेन्स तथा ढुवानीका सवारीसाधनका चालक र बाढी प्रभावित क्षेत्रबाट आएका विपन्न यात्रुलाई भोजन वितरणमा प्राथमिकता दिइएको छ ।
अभियानलाई आगामी दिनमा हेटौँडाका विभिन्न सामाजिक संघसंस्था तथा सहयोगी समूहको सहभागितामा निरन्तरता दिने तयारी गरिएको छ । विभिन्न संस्थाले आलोपालो गरी खाना पकाउने तथा वितरण गर्ने जिम्मेवारी लिने व्यवस्था गरिएको छ ।
निःशुल्क भोजन पाएपछि यात्रु तथा चालकहरूले अभियानलाई समयसापेक्ष र मानवीय पहलका रूपमा लिएका छन् । लामो समयसम्म सडकमा रोकिँदा खानाको समस्या झेलिरहेका यात्रुहरूलाई यसबाट तत्काल राहत मिलेको उनीहरूको भनाइ छ ।
पृथ्वी राजमार्ग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै त्रिभुवन राजपथ र कान्ति लोकपथबाट काठमाडौं जाने सवारीसाधनको चाप हेटौँडामा उल्लेख्य रूपमा बढेको छ । दैनिक उपभोग्य सामग्री, इन्धन तथा अन्य सामान बोकेका ढुवानीका सवारीसाधनसँगै यात्रुवाहक बससमेत यही मार्गबाट सञ्चालन भइरहेकाले हेटौँडाबाट काठमाडौं जोड्ने वैकल्पिक सडकमा यातायातको चाप बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया