भोटेकोशी बाढीपीडितका लागि एमालेले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने

लोकपथ
231
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो तथा डुबानपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले विपद् व्यवस्थापनका लागि पार्टीले केन्द्रीय तहबाटै कोष परिचालन गर्ने जानकारी दिएका हुन् ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँ गरी जम्मा २० लाख रुपैयाँको चेक ओलीलाई हस्तान्तरण गरेका थिए ।

सहयोग ग्रहण गर्दै ओलीले पार्टीले विपद् व्यवस्थापनका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने बताए। उनले राहत वितरणमा प्रक्रियागत ढिलाइ हुन नहुने भन्दै वास्तविक पीडितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारी कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ रकम खातामै थन्किने र पीडितले तत्काल आवश्यक पर्ने खानेपानीसमेत नपाउने अवस्था आउन सक्ने बताए ।

‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै थन्किने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ,’ ओलीले भने, ‘हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्‍याउनु हो ।’

राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन वास्तविक पीडितसम्म छिटो पुग्ने माध्यम पहिचान गरी पार्टीले सोहीअनुसार सहयोग परिचालन गर्ने उनले स्पष्ट पारे ।

ओलीले विपद्को यस घडीमा सबै पक्षलाई जिम्मेवार भएर राहत, उद्धार तथा पुनर्स्थापनाको काममा जुट्नसमेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?