पुनर्निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेस गर्न मन्त्री लम्सालको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताएका हुन् ।

उनले राष्ट्रिय योजना आयोग, मुख्य सचिव तथा विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन–कानुनको परिधिभित्र रहेर पुनर्निर्माणको कार्यढाँचा तयार गर्न निर्देशन दिएका छन् ।

नयाँ संरचना निर्माण गर्दा समय लाग्ने भएकाले हालकै कानुनी व्यवस्थालाई आधार बनाएर विगतको पुनर्निर्माण प्राधिकरणजस्तै शक्तिशाली र प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री लम्सालले विपद्का बेला प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद् व्यवस्थापन प्राधिकरण स्वतः सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै कमजोरीको समीक्षा गर्नुपर्ने बताए ।

उनले विगतमा कहाँ र के कारणले कमजोरी भयो भन्ने विषयमा सूक्ष्म अध्ययन गरी आवश्यक कानुनी परिमार्जनका लागि योजना आयोगले खाका तयार गर्नुपर्ने बताए ।

‘तीन दिनभित्र हामीले कार्यढाँचा पेस गर्नुपर्छ । त्यो तपाईंहरूले तयार गरिदिनुस्,’ मन्त्री लम्सालले भने, ‘विगतमा कहाँ र के कारणले कमजोरी भयो, त्यसको सूक्ष्म अध्ययन गरी ऐन–कानुनमा गर्नुपर्ने परिमार्जनका बारेमा योजना आयोगले खाका तयार पार्नुपर्छ ।’

भविष्यमा जुनसुकै विपद् आए पनि राज्यका संयन्त्रले कसैको निर्देशन पर्खनु नपर्ने गरी स्वचालित रूपमा उद्धार, राहत तथा पुनःस्थापनामा परिचालित हुनसक्ने संयन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

पुनर्निर्माणका लागि आवश्यक विभिन्न कार्यदल गठन गरी उनीहरूको कार्यक्षेत्र र जिम्मेवारीसमेत स्पष्ट रूपमा तोकिने मन्त्री लम्सालले जानकारी दिए ।

बैठकको बाँकी सत्रमा प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालको नेतृत्वमा कार्यदलको अन्तिम रूपरेखा र जिम्मेवारी बाँडफाँट टुङ्ग्याइने बताइएको छ ।

मन्त्री लम्सालले ठोस योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै बैठक निष्कर्षमा पुग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?