भोटेकोशी बाढी : २८९ पर्यटकको उद्धार, ५९१ अझै सम्पर्कविहीन

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरेको जनाएको छ । बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार उद्धार गरिएका तथा सम्पर्कविहीन पर्यटकमा स्वदेशी र विदेशी दुवै नागरिक रहेका छन् ।

पर्यटन प्रहरी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्राप्त तथ्यांकअनुसार उद्धार गरिएकामध्ये १ सय ८० जना भारतीय नागरिक रहेका छन् । त्यस्तै, चीनका ८९ जना पर्यटकको पनि उद्धार गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार हालसम्म १२ वटा राष्ट्रका पर्यटकसम्बन्धी विवरण संकलन गरिएको छ । ती विवरणलाई बोर्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । अझै ५ सय ९१ जना पर्यटक सम्पर्कविहीन रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

विपद्को सूचना प्राप्त हुनासाथ बोर्डले उद्धार तथा सूचना संकलनको काम अघि बढाएको जनाएको छ । अगस्ट २६ देखि कैलाश मानसरोवरका टुर अपरेटर तथा अन्य सरोकारवालासँग बैठक गरी पर्यटकको अवस्थाबारे विवरण संकलन सुरु गरिएको थियो ।

विवरण संकलन तथा व्यवस्थापनका लागि गुगल फर्म, इमेल र ह्वाट्सएपको प्रयोग गरिएको छ भने संकलित विवरण पर्यटक प्रहरीसँगको समन्वयमा प्रमाणीकरण भइरहेको छ ।

प्रवक्ता शर्माका अनुसार पर्यटक तथा उनीहरूका परिवारलाई आवश्यक सूचना उपलब्ध गराउन पर्यटन बोर्डमा हेल्प डेस्क स्थापना गरिएको छ । सम्पर्कविहीन पर्यटकका परिवार तथा आफन्तहरू हेल्प डेस्कमा आएर जानकारी लिने गरेका छन् ।

उनले राज्यका निकायले अभिभावकत्व ग्रहण गर्दै परिवारलाई आवश्यक सूचना र आश्वासन दिने काम भइरहेको बताए ।

बोर्डका अनुसार तातोपानी तथा सीमा क्षेत्रका होटल र अध्यागमन कार्यालय आसपासबाट पर्यटकसम्बन्धी बढी सूचना प्राप्त भइरहेको छ । केही पर्यटक अध्यागमन पार गर्ने क्रममा र केही होटलमा बसिरहेको अवस्थामा सम्पर्कविहीन भएका छन् ।

ट्रेकिङ तथा टुर एजेन्सीहरूले पनि आफ्ना पर्यटकमार्फत विवरण उपलब्ध गराइरहेका छन् । बोर्डले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी तथा सम्बन्धित देशका दूतावाससँग समन्वय गरी सूचना प्रवाहलाई तीव्र बनाएको जनाएको छ ।

नेपाल प्रहरीले तोकेका सम्पर्क व्यक्ति तथा अस्पतालहरूको सूचीसमेत सम्बन्धित पक्षलाई उपलब्ध गराएर उद्धार तथा राहत कार्यमा सहजीकरण भइरहेको प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?