रसुवा बाढी : ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

लोकपथ
0
Shares

काठमाडौं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण आन्तरिक तथा बाह्य गरी ६ सय ४४ जना पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरका अनुसार विभिन्न ३३ देशका पर्यटक सम्पर्कविहीन रहेको जानकारी टुर एजेन्सीहरूले दिएका छन् ।

सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना छन् । यस्तै, नेपाली पर्यटक १ सय २७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना रहेका छन् ।

ऐरका अनुसार टुर अपरेटर, नेपाल प्रहरी, पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी पर्यटकको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ ।

विशेषगरी तिमुरे र त्यसभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटक अझै सम्पर्कमा नआएकाले खोजी कार्यलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ । पर्यटन क्षेत्रमा संलग्न निजी क्षेत्रसमेत खोज तथा उद्धारमा सक्रिय रहेको ऐरले बताए ।

उनका अनुसार बोर्डले ट्राभल एजेन्सी तथा टुर कम्पनीसँग समन्वय गरी सम्पर्कविहीन पर्यटकको तथ्यांक संकलन गरिरहेको छ । सम्पर्कमा आएका तथा सम्पर्कविहीन पर्यटकको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिँदै आएको उनले जानकारी दिए ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्वीरको अध्ययन गर्दै भीषण बाढीको मुख्य कारण नेपाल–चीन सीमामा गएको हिम चट्टान पहिरो रहेको निष्कर्ष निकालेको छ ।

प्राधिकरणका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वी क्षेत्रमा हिम चट्टान पहिरो जाँदा गेग्य्रानसहितको बाढी ल्हेन्दे खोलामा आएको थियो । उक्त बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?