गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

लोकपथ
0
Shares

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रालयको कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए ।

बुधबार एमाले मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्री पद रिक्त रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँ सम्हालेका छन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्रीमा गोविन्दबहादुर नेपाली, कृषिमन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटनमन्त्रीमा यशोदा रिमाल र स्वास्थ्यमन्त्रीमा लक्ष्मण पाण्डे रहेका थिए । उनीहरूले बुधबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नन्दप्रसाद न्यौपाने, आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?