काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ अर्ब ६७ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढेको हो । नाफामा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर वार्षिक ४९ रुपैयाँ २५ पैसा पुगेको छ ।
नेपाल टेलिकमको कुल सञ्चालन आम्दानी ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो आम्दानी ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको सञ्चालन आम्दानी ३.१२ प्रतिशतले बढेको हो ।
त्यस्तै, कम्पनीको कुल आम्दानी ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २.६५ प्रतिशत बढी हो । कम्पनीको ईबीआईटीडीए पनि १०.७३ प्रतिशतले बढेर २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ ।
यता, कम्पनीको ब्याज आम्दानी भने घटेको छ। घट्दो ब्याजदरका कारण समीक्षा अवधिमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँले घटेको हो । यो गत आर्थिक वर्षको तुलनामा २२.८८ प्रतिशत कम हो ।
ब्याज आम्दानी घटे पनि जीएसएम सेवाबाट हुने आम्दानीमा वृद्धि, सञ्चालन दक्षतामा सुधार तथा अन्य वित्तीय प्रभावका कारण कम्पनीको समग्र नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ । जीएसएम सेवाबाट हुने आम्दानी मात्रै गत वर्षको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँले बढेको छ ।
नेपाल टेलिकमले नाफाको दृष्टिले चुनौतीपूर्ण भए पनि राष्ट्रिय सञ्चार सेवाको जिम्मेवारीका कारण दुर्गम क्षेत्रसम्म सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ । दुर्गम क्षेत्रमा नेटवर्क विस्तार तथा सेवा सुधारका लागि लागत बढी लाग्ने तर आम्दानी तुलनात्मक रूपमा कम हुने कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया