काठमाडौं । सरकारले ‘उच्च शिक्षाको राष्ट्रिय क्यालेन्डर २०८३/०८४’ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगको सिफारिसमा क्यालेन्डर स्वीकृत गरेको हो ।
नयाँ क्यालेन्डरअनुसार अब विश्वविद्यालयमा भर्ना, प्रवेश परीक्षा, कक्षा सञ्चालन, परीक्षा र नतिजा प्रकाशनका लागि निश्चित समय तोकिएको छ । कक्षा १२ को नतिजा सार्वजनिक भएको समयलाई आधार मानेर क्यालेन्डर तयार गरिएको हो ।
स्नातक तहको भर्ना आवेदन असारदेखि सुरु हुनेछ । साउनभित्र प्रवेश परीक्षा लिएर नतिजा प्रकाशन गरिनेछ भने भदौभित्र भर्ना प्रक्रिया पूरा गरी सोही महिनाबाट कक्षा सञ्चालन गर्नुपर्नेछ ।
सेमेस्टर प्रणालीअन्तर्गत पहिलो सेमेस्टरको कक्षा भदौदेखि माघसम्म सञ्चालन हुनेछ । माघमै परीक्षा लिएर फागुनभित्र नतिजा प्रकाशन गर्नुपर्नेछ । दोस्रो सेमेस्टरको कक्षा फागुनदेखि असारसम्म सञ्चालन हुनेछ । असारमा परीक्षा लिएर साउनमा नतिजा प्रकाशन गरिनेछ ।
वार्षिक प्रणालीतर्फ भदौदेखि वैशाखसम्म कक्षा सञ्चालन गरी जेठमा परीक्षा लिनुपर्नेछ । त्यसको नतिजा साउन वा भदौभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अब विश्वविद्यालयहरूले क्रमशः डिजिटल र केन्द्रीकृत अनलाइन भर्ना प्रणाली लागू गर्नुपर्नेछ । प्रवेश परीक्षा नहुने सामान्य विषयमा कक्षा १२ को जीपीएका आधारमा विद्यार्थी भर्ना गरिनेछ। प्राविधिक तथा व्यावसायिक विषयमा भने प्रवेश परीक्षा अनिवार्य हुनेछ ।
कक्षा १२ को नतिजा आएको आठ हप्ताभित्र विश्वविद्यालयले कक्षा सुरु गरिसक्नुपर्नेछ । सेमेस्टर प्रणालीमा कम्तीमा १६ हप्ता वा ९० घण्टा पठनपाठन गर्नुपर्नेछ । सेमेस्टरबीच बढीमा दुई हप्ताको मात्र बिदा दिन पाइनेछ ।
त्यस्तै, परीक्षा सकिएको बढीमा ६० दिनभित्र नियमित परीक्षाको नतिजा र अन्तिम सेमेस्टरको नतिजा ३० दिनभित्र प्रकाशन गर्नुपर्नेछ ।
स्नातक तहको अन्तिम नतिजा आएको ३० देखि ४५ दिनभित्र स्नातकोत्तर तहको भर्ना पूरा गरी कक्षा सुरु गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
सरकारले नयाँ क्यालेन्डरले विश्वविद्यालयमा हुने परीक्षा र नतिजा प्रकाशनको ढिलाइ अन्त्य गरी शैक्षिक सत्र नियमित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ । कक्षा १२ को मौका तथा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया