काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रिक एसयूभी थपिएको छ । लीपमोटरले ‘बी ०३ एक्स’ मार्फत नेपाली विद्युतीय सवारी बजारमा नयाँ मोडल सार्वजनिक गरेको हो ।
नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले बी ०३ एक्सको बिक्री सुरु गरेको जनाएको छ । चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री हुँदै आएको यो एसयूभी नेपालमा भने ‘बी ०३ एक्स’ नाममा आएको हो ।
कम्पनीले यसको नियमित मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, सुरुवाती १०० ग्राहकका लागि भने ४४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने घोषणा गरेको छ ।
५०५ किलोमिटर रेन्जको दाबी
बी ०३ एक्समा १४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५३ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ । कम्पनीका अनुसार यसले एकपटक फुल चार्ज गर्दा सीएलटीसी परीक्षणअनुसार ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ । यसको ऊर्जा खपत १०० किलोमिटरमा १०.७ किलोवाट आवर रहेको बताइएको छ ।
एसयूभीमा आधुनिक डिजाइन
बी ०३ एक्सलाई आधुनिक तथा एरोडाइनामिक डिजाइनमा तयार गरिएको छ । अगाडिको भागमा बन्द ग्रिल, स्लिम एलईडी हेडलाइट र ‘स्माइल’ शैलीको लाइट दिइएको छ ।
साइड प्रोफाइलमा फ्लेयर गरिएको ह्वील आर्च, कालो क्ल्याडिङ, सेमी–हिडन डोर ह्यान्डल र फ्लोटिङ रूफ इफेक्ट देख्न सकिन्छ । पछाडिको भागमा एलईडी टेललाइट राखिएको छ ।
एसयूभीमा ५१० लिटरको बुटस्पेस र फराकिलो क्याबिन रहेको छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६०५ एमएम छ । यसमा १८ इन्चको एलोय ह्वील प्रयोग गरिएको छ ।
सस्पेन्सनतर्फ अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सेटअप दिइएको छ ।
१४.६ इन्चको स्क्रिन र एआई असिस्टेन्ट
बी ०३ एक्सको इन्टेरियरलाई पनि प्रविधिमैत्री बनाइएको छ । यसमा टु–स्पोक मल्टिफङ्सन स्टेयरिङ ह्वील, ८.८८ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ ।
यसको इन्फोटेनमेन्ट सिस्टम क्वालकम ८२९५ ककपिट चिपबाट सञ्चालित छ । साथै, ‘क्वेन’ एआई असिस्टेन्ट पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
४४ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्य, ५०५ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज र फास्ट चार्जिङ सुविधासहित बी ०३ एक्सले नेपाली बजारमा मध्यम मूल्यका इलेक्ट्रिक एसयूभीबीच प्रतिस्पर्धा बढाउने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया