बाढी र पहिरोले कहाँ-कहाँको सडक अवरुद्ध बनायो ?

लोकपथ
63
Shares

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँका मुख्य राजमार्गमा बाढी र पहिरो गएपछि यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यका, कोशी र बागमती प्रदेशका धेरै सडक पूर्ण वा आंशिक रूपमा बन्द भएका छन् ।

काठमाडौं र ललितपुर जोड्ने केही सडक पनि अवरुद्ध भएका छन् । ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ । यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलो खोलामा पहिरो जाँदा सितापाइला–धार्के सडक पनि बन्द भएको छ ।

कोशी प्रदेशको भोजपुरमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ । त्यहाँ वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा पहिरो जाँदा मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । त्यहाँ पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा बाढी र पहिरोको जोखिमका कारण केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारी चलाउन रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिनेछ ।

यस्तै, कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर खण्डमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको छ ।

यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र वडा नम्बर–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

प्रहरीले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?