कांग्रेसको तेस्रो धारले साउन २० गते राष्ट्रिय भेला गर्ने

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो आन्तरिक विवाद अन्त्य गर्दै संगठनलाई सुदृढ बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी साउन २० गते बिहान ११ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए ।

महरले कांग्रेस आन्तरिक किचलोका कारण विभाजनको सँघारमा पुगेको र जनताका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउन दबाबमूलक अभियान सुरु गरिएको बताए । उनका अनुसार अहिले देश जटिल परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल नै आन्तरिक विवादमा अल्झिनु दुर्भाग्यपूर्ण हो ।

उनले सुनसरीबाट सुरु भई मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै हिंसामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै घाइतेहरूको शीघ्र उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

महरका अनुसार राष्ट्रिय भेलामा देशभरका ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, नागरिक समाज तथा कांग्रेस समर्थक गरी करिब दुई हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

उनले अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई कांग्रेसलाई जनतासँग पुनः जोड्नु रहेको स्पष्ट पारे । साथै पार्टीको १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन अनुशासन समिति, निर्वाचन समिति तथा सदस्यता छानबिन समितिलगायतका महत्वपूर्ण निकायमा सबै समूहको सर्वसम्मत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग अभियानले अघि सारेको बताए ।

पार्टी सभापति तथा पदाधिकारीहरूलाई व्यक्तिगत अहंकार त्यागेर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्दै महरले आवश्यक परे आफूहरू केन्द्रीय सदस्यको पद त्याग्नसमेत तयार रहेको बताए ।

उनले भने, ‘विश्वासिलो र एकताबद्ध नेपाली कांग्रेसले मात्रै जनताको विश्वास पुनः जित्न सक्छ, लोकतन्त्रको प्रभावकारी रक्षा गर्न सक्छ र देशलाई सही राजनीतिक दिशामा अघि बढाउन सक्छ । यही उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरिएको हो ।’

महरले देशभित्र साम्प्रदायिकता र अस्थिरता फैलाउने उद्देश्यले देशी तथा विदेशी शक्तिहरू सक्रिय रहेको दाबी गर्दै यस्ता चुनौतीका बीच राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य-मान्यता र नेपाली कांग्रेसको सुदृढीकरणका लागि अभियान सञ्चालन गरिएको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता रञ्जित कर्णलगायत अन्य नेताहरूको पनि उपस्थिति थियो। अभियानले साउन २० को राष्ट्रिय भेलापछि देशभर हस्ताक्षर संकलन तथा अन्य दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

‘कांग्रेस जुट्दा लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भए मात्र देश बलियो हुन्छ’ भन्ने संकल्पका साथ अभियान अघि बढाइएको महरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?