बजारमा केराको अस्वाभाविक मूल्यवृद्धि रोक्न सरकारसँग उत्पादकको माग

लोकपथ
7
Shares

धनगढी । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारसँग आग्रह गरेका छन् ।

केरा उत्पादक संघ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि ६५ मा बिक्री भइरहेको केरा उपभोक्ताले बजारमा अत्यधिक मूल्यमा किन्न बाध्य भएको बताएका हुन् । उनीहरूले मूल्य नियन्त्रण, कालोबजारी रोकथाम र बजार व्यवस्थापनमा सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।

संघले भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाउने सङ्घीय सरकारको निर्णयलाई स्वागत गर्दै यसले स्वदेशी उत्पादन, किसानको हित र कृषि सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । तर आयात रोकिएपछि बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि हुन सक्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने संघको भनाइ छ ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन, कालोबजारी नियन्त्रण, कृत्रिम अभाव अन्त्य तथा अनुचित मूल्यवृद्धिविरुद्ध कडा कदम चाल्न आग्रह गरिएको छ । संघले किसान र उपभोक्ता दुवैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेको छ ।

यसैबीच, संघले कैलाली र कञ्चनपुरका लागि बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्य पनि सार्वजनिक गरेको छ। सिफारिसअनुसार भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन रु ५५–६५, कात्तिकदेखि मङ्सिर मसान्तसम्म रु ४५–५० तथा पुसदेखि माघ मसान्तसम्म रु ३०–३५ निर्धारण गरिएको छ । फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन, बजार अवस्था तथा माग–आपूर्तिको मूल्याङ्कनपछि आगामी संयुक्त बैठकले तय गर्ने जनाइएको छ ।

केरा उत्पादक संघ कैलालीका अध्यक्ष दीपेन्द्र थारुले निर्धारण गरिएको बगान बिक्री मूल्य कार्यान्वयनमा किसान, व्यापारी तथा सरोकारवाला सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रकुमार चौधरीका अनुसार कृषि गणना २०६८/६९ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब २,४०४ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ, जहाँबाट वार्षिक करिब ७२ हजार ४४९ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । हाल कैलालीमा करिब १,८५० हेक्टर र कञ्चनपुरमा करिब ६१० हेक्टर क्षेत्रफलमा केराखेती भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?