काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न दुई महिनाका लागि ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार बुधबार ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक रहेकाले त्यसलाई मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गर्न निक्षेप संकलन गर्न लागिएको जनाएको छ ।
यसअघि पनि राष्ट्र बैंकले साउन ११ गते १७९ दिन अवधिको ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको थियो । पछिल्लो समय बैंकहरूमा निक्षेप निरन्तर बढ्दै गए पनि कर्जाको माग अपेक्षाअनुसार नबढ्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायम रहेको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल र निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
यस निक्षेप उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ असोज १२ गते गरिनेछ । ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया