काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गएराति सुनसरीमा घटेको घटनाबारे गृहमन्त्री सुधन गुरुङको जवाफ माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शान्ति सुरक्षा कायम गर्न सरकार चुकेको कारण उक्त घटना घटेको बताए ।
गएराति सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा दुई समूहबिच विवाद भयो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर उपचाररत २ जनाको मृत्यु भएको छ ।
उनले सो घटनामा शान्ति सुव्यवस्था कायम गर्न नसक्नुमा गृहमन्त्रालयको गम्भीर त्रुटी रहेको र त्यसको जवाफ गृहमन्त्रीले दिनुपर्ने बताए ।
‘सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्छ । सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी हो । यो घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ र तत्काल गृहमन्त्रीले यसको जवाफ दिनुपर्छ,’ उनले भनेका छन् ।
यसैगरी पछिल्लो समय सरकारप्रति आम नागरिकको तीव्र असन्तोष रहेको र त्यसैको कारण आत्मदाहको घटना बढ्दै गइरहेको आरोप लगाए । यस्तो अवस्थामा जिम्मेवार व्यक्तिहरुले सामाजिक सञ्जालबाट असहिष्णुता फैलिने गतिविधि फैलिन नदिन सचेत हुनुपर्ने बताए ।
‘पछिल्लो समय सरकारप्रति नागरिकहरूमा तीब्र असन्तोष पैदा भएको छ । परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना, समाजमा शान्ति सुरक्षा र सहिष्णुतासँग सम्बन्धित संवेदनशील घटनाहरू बारम्बार दोहोरिनु सरकार कौशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नबाट चुकेको देखिन्छ । साथै, जिम्मेवार व्यक्तिहरूले यस्तो संवेदनशील बेलामा सामाजिक सञ्जालबाट थप असहिष्णुता फैल्याउने कार्य गर्न हुँदैन,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया