काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नियम र आचारसंहिता उल्लंघन गरे परीक्षा रद्द हुन सक्ने चेतावनी दिएको छ ।
व्यवस्थापन संकायका रजिस्ट्रार प्राडा महानन्द चालिसेका अनुसार अहिले व्यवस्थापन संकायका करिब १७ हजार विद्यार्थी परीक्षामा सहभागी छन् ।
उनले परीक्षा निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन विद्यार्थीलाई आग्रह गरेका छन् ।
व्यवस्थापन संकायअन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल कार्यक्रमका परीक्षा सञ्चालन भइरहेका छन् । यससँगै त्रिविले परीक्षार्थीका लागि ६ बुँदे निर्देशन पनि जारी गरेको छ ।
त्रिविका अनुसार परीक्षामा सहभागी हुन वैध प्रवेशपत्र अनिवार्य ल्याउनुपर्नेछ । विद्यार्थीले तोकिएको सिटमै बसेर परीक्षा दिनुपर्ने र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सिट वा परीक्षा भवन छोड्न नपाइने व्यवस्था गरिएको छ ।
त्यस्तै, परीक्षा सुरु भएको एक घण्टासम्म परीक्षा भवनबाट बाहिर निस्किन पाइने छैन । मोबाइल फोन, स्मार्टवाच, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा हलभित्र लैजान पनि रोक लगाइएको छ ।
त्रिविले नक्कल गर्ने, अरूलाई नक्कल गराउन सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने, परीक्षा सञ्चालनमा बाधा पुर्याउने वा परीक्षा कर्मचारीसँग अभद्र व्यवहार गर्ने कार्य निषेध गरेको छ ।
विश्वविद्यालयले परीक्षा अवधिभर केन्द्राध्यक्ष, निरीक्षक र अन्य परीक्षा कर्मचारीको निर्देशन पालना गर्न पनि सबै परीक्षार्थीलाई आग्रह गरेको छ ।
त्रिविले परीक्षा नियम वा आचारसंहिता उल्लंघन गरे परीक्षा रद्द हुने, केही समयसम्म परीक्षामा सहभागी हुन नपाइने र आवश्यक परे कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया