देशमा निरंकुश प्रवृत्ति बढ्यो, फेरि संघर्षको आवश्यक छ : प्रचण्ड

लोकपथ
14
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको भन्दै कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गरेर नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै दाहालले अहिले नेपाली कम्युनिष्ट आन्दोलनले ठूलो धक्का व्यहोरेको उल्लेख गर्दै आन्दोलनलाई पुनर्जीवित गरी देशको नेतृत्व लिनुपर्ने समय आएको बताए ।

उनले राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौती, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थिति तथा देशमा देखापरेको निरंकुश प्रवृत्तिको सामना गर्न सबै कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुन आवश्यक रहेको धारणा राखे ।

दाहालले पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदान स्मरण गर्नु औपचारिक श्रद्धाञ्जलिमा मात्र सीमित नभई उनीहरूले देखाएको मार्गमा अघि बढ्ने संकल्प गर्ने अवसर भएको बताए । उनले देशमा देखिएको निरंकुश प्रवृत्तिविरुद्ध फेरि एकपटक संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको जिकिर गरे ।

उनका अनुसार राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिष्ट आन्दोलनको पुनर्गठन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि सबै वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?