बाइक स्टन्टपछि आलोचित रास्वपा सांसद बब्लु गुप्ताले सार्वजनिक रूपमा मागे माफी

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा परेका छन् ।

सिरहा निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुप्ताको उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको हो । धेरैले जनप्रतिनिधिले नै ट्राफिक नियम उल्लङ्घन गर्दै जोखिमपूर्ण गतिविधि गरेको भन्दै प्रश्न उठाएका छन् ।

आलोचना बढ्दै गएपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।

उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको र त्यही उत्साहमा मजाक-मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको बताएका छन् ।

गुप्ताले लेखेका छन्, ‘त्यही खुसी र रमाइलोको क्षणमा मजाक-मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु ।’

आफ्नो गल्ती स्वीकार गर्दै उनले भविष्यमा यस्तो कार्य नदोहोर्‍याउने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले भनेका छन्, ‘अब यही जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्द छु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?