अविरल वर्षापछि ९ प्रमुख सडक पूर्ण अवरुद्ध, बिपी राजमार्ग र कान्ति लोकपथमा राति सवारी सञ्चालन रोक

लोकपथ
0
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान र बाढीको जोखिमका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै देशभरका ९ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण दैनिक साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, वर्षायामभर कान्ति लोकपथमा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ ।

पूर्ण रूपमा अवरुद्ध भएका सडकखण्डमा इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा रहेको अरनिको राजमार्ग, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड रहेका छन् ।

यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षाका कारण सडकको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?