काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना, तीन दिन मनसुन सक्रिय रहने

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने र केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् संजीव अधिकारीका अनुसार हाल उपत्यकामा सामान्य बदली रहेको छ । मेघगर्जन तथा चट्याङसहित वर्षा गराउन सक्ने बादल विकसित भएकाले केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताए ।

देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै अधिकारीले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको बताए। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ । हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा करिब ५० मिलिमिटरसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यद्यपि अति भारी वा धेरै भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले स्पष्ट पारे ।

आज राति कोशी प्रदेशका केही बढी स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । रातिको समयमा भने भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार आगामी तीन दिनसम्म मनसुन सक्रिय रहने भए पनि अति भारी वर्षाको जोखिम तत्काल नरहेको छ। मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाको आसपास रहेकाले वर्षा भइरहे पनि अत्यधिक वर्षाको सम्भावना कम रहेको उनले बताए ।

महाशाखाले सर्वसाधारणलाई जल तथा मौसम विज्ञान विभागका आधिकारिक मौसम बुलेटिन नियमित रूपमा हेरेर अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?