नेपाल लाइफद्वारा दृष्टिविहीन बालबालिकाका लागि आवास निर्माण गर्न आर्थिक सहयोग

लोकपथ
14
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ ।

कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा निर्माण भइरहेको आवासीय भवनका लागि सहयोग उपलब्ध गराएको हो ।

निर्माणाधीन भवन सञ्चालनमा आएपछि ६० जनासम्म दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्न पाउनेछन् । भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय पूर्वाधार रहने जनाइएको छ ।

यसअघि त्रिनेत्र फाउन्डेसनले सीमित स्रोत–साधनका बीच सानो भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको थियो । नयाँ भवन तयार भएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ ।

यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्नुलाई पनि आफ्नो प्राथमिकता मान्दै आएको बताए ।

उनले त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उल्लेख गरे ।

नेपाल लाइफ इन्स्योरेन्सले जिम्मेवार व्यावसायिक अभ्यास र संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत जीवन बीमासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?