डा. लोहनीको प्रस्ताव : ‘नेपालमै बन्दै गरेको रकेट इन्जिन उद्योगलाई १० वर्ष कर छुट दिऔँ’

लोकपथ
168
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालका युवा इन्जिनियरहरूले गरिरहेको रकेट निर्माणको प्रयासलाई अत्यन्तै उत्साहजनक भन्दै सरकारले यसमा विशेष प्रोत्साहन दिनुपर्ने माग गरेका छन् ।

अब प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र सत्तारुढ दल रास्वपाका सभापतिरवि लामिछानेले राजनीतिक लफडा भन्दा माथि उठेर यी कुराहरुमा ध्यान दिन समेत आग्रह गरे ।

नेपाली रकेट विशेषज्ञ मोहन तामाङको नेतृत्वमा रहेको म्याच २४ (Mach 24) नामक कम्पनीले मिश्रित ऊर्जा (Hybrid Energy) प्रयोग गरी सानो रकेट निर्माण गरिरहेको र यसको पेटेन्ट दाबी गर्ने प्रक्रिया समेत अघि बढाएको उनको दाबी छ । ५५ पटकको सफल परीक्षणपछि यो इन्जिन व्यावसायिक उत्पादनको अन्तिम तयारीमा पुगेको छ । म्याच २४ ले पृथ्वीको तल्लो कक्षमा साना भूउपग्रह (Small Satellites) प्रक्षेपण गर्ने सस्तो रकेट इन्जिनको सपना देखेको छ ।

अर्थ मन्त्रालयले प्रविधि केन्द्रित उत्पादनलाई बढावा दिन यस्ता नवप्रवर्तनकारी उद्योगको पहिचान गरी १० वर्षसम्म पूर्ण रूपमा कर माफ गर्ने नीति ल्याउनुपर्छ । यसले नेपालमा नपत्याएको वैदेशिक तथा आन्तरिक लगानी भित्र्याउने र नयाँ उत्पादनशील रोजगारी सिर्जना गर्ने डा. लोहनीको दाबी छ ।

हाल विज्ञान तथा प्रविधि मन्त्रालय देशकै कहलिएका विज्ञ महावीर पुनको हातमा रहेकाले उनले मन्त्रीको हैसियतमा आफ्नो ठट्याउलो शैली छोडेर यस्ता कम्पनीहरूका लागि आवश्यक कानुन बनाउन र नीतिगत सहयोग पुर्‍याउन गम्भीरता देखाउनुपर्ने डा. लोहनीको सुझाव रहेको छ ।

इतिहासमै सभ्यता, संस्कृति र काठमाडौं उपत्यकाको वास्तुकला जस्ता प्रविधि प्रयोगमा अग्रणी रहेको नेपालका लागि तीन करोड जनसंख्याको यो मध्यमस्तरको देशमा रकेट इन्जिनको व्यापारिक सम्भावना प्रचुर रहेको र यसका लागि सरकारले खुट्टा कमाउन नहुने सुझाव डा. लोहनीले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?