काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा समेत सञ्चार अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।
युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ ।
यो प्रविधिले सञ्चार सञ्जाल अवरुद्ध भएको बेला समेत स्याटलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्छ ।
बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर र राहत वितरण केन्द्र, अस्थायी शिविर, आपत्कालीन कार्य हुने स्थान लगायतका क्षेत्रमा यो प्रविधिले हालको अवस्थामा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ ।
हालसम्म यो प्रविधि मार्फत नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा सेवा उपलब्ध गराइएको छ भने बाढी प्रभावित अन्य स्थानमा जडान गर्ने कार्य जारी रहेको कम्पनीले जनाएको छ ।
यो प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्दछ । त्यसपछि उक्त उपकरणले वरपरका क्षेत्रमा एक अर्को उपकरणमार्फत वाईफाई सेवा उपलब्ध गराउँछ । साधारण इन्टरनेट र मोबाइल सेवा उपलब्ध नभए पनि यो प्रविधिले इन्टरनेट सेवा दिन्छ ।
यो प्रविधिले उच्च–गति र लो लेटेन्सी कनेक्टिभिटी प्रदान गर्दछ जसको अर्थ मानिसहरूले यसलाई सन्देश आदानप्रदान, इन्टरनेट(आधारित कल, महत्त्वपूर्ण जानकारी पहुँच, ब्राउजिङ र राहत प्रयासहरूको समन्वयका लागि प्रयोग गर्न सक्छन् ।

एनसेलले यो सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायतका सरकारी निकायहरूबाट आवश्यक स्वीकृतिहरू प्राप्त गरिसकेको छ ।
‘हामीले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटको तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरेका छौँ । यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीय वासीलाई यो कठिन समयमा सम्पर्कमा रहन मद्दत गर्नेछ,’ एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले भने ।
पहिलो दिनदेखि नै एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाख भन्दा बढी प्रभावित ग्राहकहरूलाई हरेक दिन निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा प्रदान गर्दै आएको छ । कम्पनीले एनसेल फाउन्डेसन मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एक अर्कासँग सम्पर्कमा रहनु अत्यावश्यक रहेका बेला स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउनु एनसेल सधैँ नेपाली जनतासँग उभिने दृढ सङ्कल्पको बलियो प्रमाण हो । एनसेलको यो कार्य अवरुद्ध सेवा पुनः सञ्चालन गर्न मात्र सीमित छैन भन्ने देखाउँछ ।
दूरसञ्चार सेवा उपलब्ध नहुँदा आपत्कालीन समयमा सबैलाई सम्पर्कमा राख्न एनसेल हरेक सम्भव उपाय खोज्ने काममा केन्द्रित रहेको छ। सडक अवरुद्ध, फाइबर क्षतिग्रस्त हुँदा र सूचनाको प्रतीक्षा हुँदा कनेक्टिभिटी केवल सुविधा होइन, लाइफलाइन हो भन्ने एनसेलको विश्वास छ ।
र यो लाइफलाइन सबैभन्दा बढी आवश्यक परेका समुदायका लागि खुला राख्न एनसेल प्रतिबद्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया