भिभोले सार्वजनिक गर्‍यो भि८० लाइटको पहिलो झलक, ७०५० एमएएच ब्याट्रीदेखि १.५के एमोलेड डिस्प्लेसम्म

लोकपथ
56
Shares

काठमाडौं । भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि८० लाइटको पहिलो झलक सार्वजनिक गरेको छ । कम्पनीले आधिकारिक सामाजिक सञ्जालमार्फत फोनको डिजाइन र केही प्रमुख विशेषताबारे जानकारी सार्वजनिक गरेको हो ।

डिजाइनलाई प्राथमिकता दिइएको भि८० लाइटमा परिष्कृत कभर्ड डिजाइन, सहज पकड र अल्ट्रा–स्लिम युनिबडी डिजाइन रहने बताइएको छ । कम्पनीले यसको डिजाइनलाई ‘स्ले एभरी एज’ अवधारणामा आधारित गरेको जनाएको छ ।

भि८० लाइटमा ७०५० एमएएच क्षमताको ब्याट्री रहने अपेक्षा गरिएको छ । ठूलो ब्याट्रीले लामो समयसम्म फोन प्रयोग गर्न सहज बनाउने कम्पनीको दाबी छ ।

त्यस्तै, फोनमा ‘स्काइलाइन क्यामेरा डिजाइन’ र सिल्क ह्वाइट फिनिस रहनेछ । चराको उडानबाट प्रेरित भनिएको तेर्सो क्यामेरा मोड्युलले फोनको डिजाइनलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

कार्यसम्पादनतर्फ भि८० लाइटमा मिडियाटेक डाइमेन्सिटी ७३६०–टर्बो चिपसेट रहने बताइएको छ । ४ एनएम प्रविधिमा आधारित यो चिपसेटले मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङमा सहज कार्यसम्पादन दिने अपेक्षा गरिएको छ । फोनमा ३ पुस्तासम्म ओएस अपग्रेड र ५ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गेमिङका लागि पनि फोनमा विशेष ध्यान दिइएको छ । प्रारम्भिक जानकारीअनुसार ३० डिग्री सेल्सियस तापक्रममा ‘मोबाइल लेजेन्ड’ गेम खेल्दा ३ घण्टासम्म ९० एफपीएसको स्थिर गेमिङ अनुभव दिने दाबी गरिएको छ ।

भि८० लाइटमा १.५के अल्ट्रा क्लियर एमोलेड डिस्प्ले रहने अपेक्षा गरिएको छ । यसले भिडियो हेर्न, गेम खेल्न तथा अन्य सामग्री प्रयोग गर्दा थप स्पष्ट र इमर्सिभ अनुभव दिने बताइएको छ ।

क्यामेरातर्फ फोनमा ३२ मेगापिक्सेल ग्रुप सेल्फी क्यामेरा रहनेछ । समूहमा सेल्फी खिच्दा धेरै व्यक्तिलाई एउटै फ्रेममा समेट्न यसले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, कम प्रकाशमा पोट्रेट फोटोग्राफीका लागि ५० मेगापिक्सेल क्लियर नाइट पोट्रेट क्यामेरा रहने प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ । सोनी सेन्सरमा आधारित भनिएको उक्त क्यामेराले राति तथा कम प्रकाशमा स्पष्ट तस्बिर खिच्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

समग्रमा, ठूलो ब्याट्री, शक्तिशाली चिपसेट, एमोलेड डिस्प्ले र क्यामेरा क्षमतासहित भि८० लाइटले नेपाली स्मार्टफोन बजारमा नयाँ विकल्प थप्ने देखिएको छ ।

कम्पनीले स्मार्टफोनको आधिकारिक मूल्य, उपलब्धता र नेपालका लागि अन्तिम स्पेसिफिकेसन भने आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?