काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने आफ्नो पूर्वप्रस्ताव फिर्ता लिएका छन् ।
ट्रम्पले शुल्क लगाउनुको सट्टा खाडी मुलुकहरूसँग व्यापार तथा लगानीसम्बन्धी सम्झौता अघि बढाउने निर्णय गरेको बताएका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै उनले मध्यपूर्वी देशका नेतृत्वहरूसँग भएको वार्तापछि यस्तो निर्णय लिएको जानकारी दिए ।
‘मैले २० प्रतिशतको ‘संयुक्त राज्य अमेरिका शोधभर्ना शुल्क’को सट्टा खाडी मुलुकहरूले अमेरिकासँग गर्ने व्यापार र लगानी सम्झौताहरूलाई प्राथमिकता दिने निर्णय गरेको छु, ‘ट्रम्पले उल्लेख गरेका छन् ।
उनले खाडी राष्ट्रहरूले अमेरिकामा ठूलो मात्रामा लगानी गर्ने प्रतिबद्धता जनाएको र यो निर्णय आफूलाई सन्तोषजनक लागेको बताएका छन् ।
यसअघि ट्रम्पले हर्मुज जलडमरूमार्गको सुरक्षा सुनिश्चित गरेबापत अमेरिकालाई शोधभर्ना गराउन व्यावसायिक ढुवानीमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव गरेका थिए । हर्मुज जलडमरूमार्ग विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हो ।
ट्रम्पले उक्त जलमार्ग इरानबाहेक अन्य सबै मुलुकका जहाजका लागि खुला रहने स्पष्ट पारेका छन् । यद्यपि, इरानमाथि लगाइएको जलसेनाको नाकाबन्दी भने जारी रहने उनले बताएका छन् ।
यसैबीच, ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गरिएको विषयमा अमेरिकी कंग्रेसलाई औपचारिक जानकारी गराइसकेका छन् । युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच १४ बुँदे समझदारी भएको केही समयमै दुई देशबीच पुनः तनाव बढेको हो ।
पछिल्ला अमेरिकी हवाई आक्रमण र इरानी प्रत्याक्रमणका कारण वासिङ्टन र तेहरानबीचको सम्बन्ध थप जटिल बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया