काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले केही मुख्य सडक बन्द भएका छन् ।
प्रहरीका अनुसार इलामको मेची राजमार्ग, उदयपुरको सिद्धिचरण लोकमार्ग, काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड अवरुद्ध भएका छन् ।
यस्तै, देशभरका ६ स्थानमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन् । अधिकांश सडक पहिरोका कारण अवरुद्ध भएका हुन् ।
जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेश प्रदेश र बागमती, गण्डकी र लुम्बिनीका तराईका केही ठाउँमा भारी वर्षा हुन सक्छ ।
राति पनि कोशी प्रदेशका पहाडी क्षेत्र तथा कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षा र पहिरोको जोखिम भएकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया