काठमाडौं । केही समयदेखि आधा सिलिण्डर मात्रै ग्यास पाइरहेका उपभोक्ताले बुधबारदेखि पूर्ण तौल भएको भरी सिलिण्डर ग्यास पाउने भएका छन् ।
नेपाल आयल निगमले भोलि (बुधबार) देखि पूरा तौल ग्यास वितरण गर्ने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले यो व्यवस्था मिलाइएको हो ।
नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन् ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङ्गको अवस्थामा उल्लेख्य सुधार आएको छ ।
यसका साथै, आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिण्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिण्डरको सट्टा पूर्ण तौलकै सिलिण्डर बजारमा पठाउने निर्णय गरेको हो । यो निर्णय बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ ।
निगमले भरी सिलिण्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत स्पष्ट पारेको छ। अब उपभोक्ताले प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ (२,०६०) मा भरी ग्यास सिलिण्डर खरिद गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया