इटहरी । इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार राति करिब ११ः४० बजेतिर इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा सेउती पुलबाट करिब दुई सय मिटर दक्षिण तरहरातर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कोरपिओ आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ निवासी करिब ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले राति १२ः४५ बजेतिर दुवै जनालाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा धरान–२० निवासी ३२ वर्षीय पदम राई घाइते भएका छन् । उनको निधार र छातीमा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेका छन् र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्कोरपिओ तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ । दुर्घटनाग्रस्त गाडी इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजेतिर दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी टोली परिचालन गरिएको थियो ।
प्रसारण लाइनमा समस्या देखिएपछि विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने उद्देश्यले टोली खटाइएपनि गन्तव्यमा पुग्नुअघि नै दुर्घटना हुँदा दुई कर्मचारी गुमाउनुपरेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया