काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र–०८४ का लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था घोषणा गरेको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा ९औँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै करदातालाई प्रोत्साहन गर्न विभिन्न छुटका योजनाहरू सार्वजनिक गरेका हुन् ।
महानगरले सार्वजनिक गरेको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८३–०८४ मा बुझाउनुपर्ने सम्पती कर, भूमि कर र मालपोत आगामी असोज मसान्तभित्र बुझाएमा करदातालाई १० प्रतिशत छुट दिइनेछ ।
यस्तै, महानगरमा दर्ता भई नवीकरण हुन बाँकी उद्योग तथा व्यवसायहरूको हकमा पुस मसान्तभित्र सम्पूर्ण वक्यौता रकम चुक्ता गरेमा आर्थिक वर्ष २०७३–०७४ सम्मको व्यवसाय कर र बहाल करमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गरिने नीति लिइएको छ ।
मेयर महर्जनकाअनुसार आर्थिक वर्ष २०७४–०७५ देखि २०८२–०८३ सम्मको व्यवसाय करको जरिवानामा पनि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । तर तोकिएको समयभित्र बक्यौता रकम चुक्ता नगरेमा यी छुट सुविधाहरू उपलब्ध हुने छैनन् र नियमअनुसार जरिवानासहित कर असुल गरिने महानगरले स्पष्ट पारेको छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको असार मसान्तसम्म व्यवसाय नवीकरण गर्ने व्यवसायीहरूलाई २५ प्रतिशत छुट दिइने भएको छ । करदाताले चालु आर्थिक वर्षको सम्पती कर तिरेको प्रमाण पेश गरेमा सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाउने व्यवस्था समेत गरिएको छ । सामाजिक समावेशीकरण र उद्यमी प्रवद्र्धनलाई ध्यानमा राख्दै महानगरले एकल महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरू र महिला समूहद्वारा सञ्चालित व्यवसायको दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
उनले भने, ‘चालु आर्थिक वर्ष २०८३–०८४ मा बुझाउनुपर्ने सम्पत्ति कर, भूमि कर तथा मालपोत चालु आर्थिक वर्ष २०८३–०८४ को असोज मसान्तभित्र बुझाएमा देय करमा १० प्रतिशत छुट दिइनेछ । ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग तथा व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष २०८३–०८४ को पुस मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा आर्थिक वर्ष २०७३–०७४ सम्मको सम्पूर्ण व्यवसाय कर तथा बहाल करको जरिवाना छुट हुनेछ । आधार वर्ष आर्थिक वर्ष २०७४–०७५ देखि आर्थिक वर्ष २०८२–०८३ सम्मको व्यवसाय करमा लागेको जरिवानामा शतप्रतिशत छुट प्रदान गरिनेछ । तोकिएको समयभित्र वक्यौता रकम चुक्ता नगरेमा उल्लिखित छुट सुविधा उपलब्ध हुनेछैन । साथै, वक्यौता रकममा प्रचलित कानूनबमोजिम जरिवानासहित व्यवसाय कर तथा बहाल कर असुलउपर गरिनेछ । चालु आर्थिक वर्ष २०८३–०८४ मा व्यवसाय नवीकरण गर्दा सोही आर्थिक वर्षको असार मसान्तसम्म नवीकरण गर्ने व्यवसायलाई नवीकरण शुल्कमा २५ प्रतिशत छुट दिइनेछ । चालु आर्थिक वर्ष २०८३–०८४ को सम्पत्ति कर तिरेको प्रमाण पेस गरेमा सोही आर्थिक वर्षको सिफारिस दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ । एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरूको समूह तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष २०८३–०८४ मा व्यवसाय दर्ता गर्दा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइनेछ । ललितपुर महानगरपालिका क्षेत्रभित्र सम्पत्ति कर तिर्ने करदाताले सम्पती कर बुझाउँदा सम्बन्धित करदाता वा निजको श्रीमान–श्रीमतीले विद्युतीय (इलेक्ट्रिक) सवारी साधन खरिद गरेको ब्लुबुक पेस गरेमा चालु आर्थिक वर्ष २०८३–०८४ को सम्पत्ति करमा १ प्रतिशत छुट दिइनेछ ।’
वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न महानगरले विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्ताका लागि समेत विशेष योजना ल्याएको छ । सम्पत्ति कर बुझाउँदा सम्बन्धित व्यक्ति वा निजको पति–पत्नीको नाममा रहेको विद्युतीय गाडीको ब्लूबुक पेश गरेमा चालु आर्थिक वर्षको सम्पती करमा थप १ प्रतिशत छुट उपलब्ध गराइने मेयर महर्जनले जानकारी दिए ।
महानगरले चालु आ.व. २०८२–०८३ मा कुल ६८ प्रतिशत खर्च भएको जनाएको छ ।
पुँजीगततर्फ ६०.४५ प्रतिशत, चालु खर्च ८३।२६ प्रतिशत, राजश्व संकलन ७५.३१ प्रतिशत, बेरुजु ०.४४ प्रतिशत (आ.व.२०८१–०८२ को लेखा परीक्षणबाट) वित्तीय जोखिम मूल्यांकन ९९.५अंक, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ अंक र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७६.३२ प्रतिशत रहेको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया