काठमाडौं । संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच आधुनिक तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्य भएको छ ।
सहकार्यअन्तर्गत श्री पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबमा निःशुल्क विशेष कक्षा सञ्चालन गरिने भएको छ ।
कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार (असार २८ गते, २०८३) पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको हो । पहिलो सत्रमा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी गराइएको थियो । त्यसपछि उनीहरूले डिजिटल फेब्रिकेसनका उपकरण प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए ।
शैक्षिक वर्षभर सञ्चालन हुने कार्यक्रममा विद्यार्थीलाई थ्रीडी प्रिन्टिङ, कोडिङ, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, फोटोग्राफी, भिजुअल इफेक्ट्स लगायत विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ । साथै, समुदायका आवश्यकता सम्बोधन गर्ने विभिन्न परियोजना विकासमा पनि विद्यार्थीलाई प्रोत्साहन गरिने विद्यालयले जनाएको छ ।
संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने यस कार्यक्रमका सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था गर्नेछ । कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ ।
शैक्षिक वर्ष २०८३ भर प्रत्येक दोस्रो आइतबार दुई घण्टाका दरले कक्षा सञ्चालन गरिनेछ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औँ शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच र व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ ।
दुवै विद्यालयले यस गैरव्यावसायिक सहकार्यले सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, डिजिटल विभाजन कम गर्ने तथा भावी नवप्रवर्तक तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया