काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका–१ का वडा अध्यक्ष दिनेश खत्रीलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा खानेपानीको व्यवस्था भए पनि पानी शुद्धीकरण गर्ने प्रविधि नहुँदा विद्यार्थी तथा शिक्षकलाई सुरक्षित र शुद्ध पानी उपभोग गर्न कठिनाइ भइरहेको थियो । विद्यालयको यही आवश्यकतालाई मध्यनजर गर्दै बैंकले पानी ट्यांकी र इलेक्ट्रिक वाटर प्युरिफायर सहयोग गरेको जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष दिनेश खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग उपलब्ध गराएकोमा कामना सेवा विकास बैंकप्रति धन्यवाद व्यक्त गरे ।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकबाट प्राप्त सहयोगले विद्यार्थी तथा शिक्षकहरूले अब शुद्ध र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कामना सेवा विकास बैंकले आगामी दिनमा पनि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया