बीमा दाबीमा समस्या भए प्रमाणसहित उजुरी गर्न प्राधिकरणको आग्रह

लोकपथ
0
Shares

काठमाडौं । बीमा दाबी भुक्तानी वा बीमासम्बन्धी सेवामा समस्या भए नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सकिने भएको छ । प्राधिकरणले बीमक (बीमा कम्पनी), कर्मचारी, सर्भेयर वा अन्य सम्बन्धित पक्षबाट गलत काम भएको भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार केही बीमा कम्पनी, कर्मचारी तथा सर्भेयरले बीमा कानुन, नियम तथा आचारसंहिताविपरीत काम गरेको गुनासो आइरहेको छ । यसलाई ध्यानमा राख्दै प्राधिकरणले त्यस्ता गतिविधिविरुद्ध कारबाहीका लागि सार्वजनिक सूचना जारी गरेको हो ।

बीमा दाबीमा गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, प्रमाण तोडमोड गर्ने, पक्षपातपूर्ण मूल्यांकन गर्ने, अनुचित लाभ लिने वा कानुनविपरीत काम गर्ने व्यक्तिविरुद्ध उजुरी दिन सकिने छ । यस्ता उजुरीमाथि अनुसन्धान गरी बीमा ऐन, २०७९ अनुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

उजुरी दिँदा उजुरीकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा दाबी पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने छ ।

सर्वसाधारणले ललितपुरको कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको कार्यालयमा पुगेर वा इमेल तथा हुलाकमार्फत उजुरी पठाउन सक्नेछन् । प्राधिकरणले प्राप्त उजुरी र प्रमाणको गोपनीयता कायम राखी आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?