नेपाल चेम्बर र भारतको बेनेट विश्वविद्यालयबिच पाँच वर्षे सहकार्य

लोकपथ
0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शिक्षा सहकार्यलाई अघि बढाउने उद्देश्यले पाँच वर्षका लागि समझदारी भएको छ ।

शुक्रबार जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका स्टार्टअप तथा इनोभेसन समितिका सभापति पंकज जालान र बेनेट विश्वविद्यालयका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सेन्थिल कुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिनेछ ।

सम्झौताअनुसार दुवै संस्थाले शिक्षा, उद्योग, स्टार्टअप, लगानीकर्ता र नीतिनिर्माण क्षेत्रलाई जोड्ने साझा सहकार्य गर्नेछन् । यसअन्तर्गत उद्यमशीलता विकास, सीपमूलक तालिम, उद्योग–शिक्षा सहकार्य, स्टार्टअप प्रवर्द्धन, अनुसन्धान, नेतृत्व विकास र ज्ञान आदान–प्रदानका कार्यक्रम सञ्चालन गरिनेछ ।

उद्यमी, व्यवसायी तथा साना-मझौला उद्योग (एसएमईरएमएसएमई) का लागि डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), वित्तीय व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, आपूर्ति शृङ्खला तथा सुशासनजस्ता विषयमा विशेष तालिम र कार्यकारी शिक्षा कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र भारतबीचको सहकार्यलाई अझ बलियो बनाउन यो सम्झौता महत्त्वपूर्ण हुने बताए । उनले एआई, डिजिटल प्रविधि र नवप्रवर्तनमा आधारित विश्व अर्थतन्त्रसँग नेपाली उद्यमी र युवालाई जोड्न यस्तो साझेदारी आवश्यक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?