राष्ट्रिय वाणिज्य बैंकको नाममा डिजिटल ठगी, ग्राहकलाई सचेत रहन आग्रह

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम दुरुपयोग गरेर ग्राहकलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सबैलाई सावधान रहन आग्रह गरेको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै केही व्यक्तिले बैंकको कर्मचारी बनेर फोन, इमेल वा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने, केवाईसी अपडेट गर्ने बहाना बनाउने र ग्राहकबाट गोप्य जानकारी माग्ने गरेको जनाएको हो ।

बैंकका अनुसार यस्ता ठगी गर्नेहरूले खाता नम्बर, ओटीपी, एटीएम पिन, मोबाइल बैंकिङ तथा ई–बैंकिङको पासवर्ड, स्क्रिन शेयर गर्न लगाउने वा शंकास्पद लिङ्क पठाएर ग्राहकको बैंक खातामा पहुँच पुर्‍याउने प्रयास गरिरहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्ना कर्मचारीले कुनै पनि अवस्थामा फोन, इमेल वा सामाजिक सञ्जालमार्फत ग्राहकसँग एटीएम पिन, ओटीपी, पासवर्ड वा अन्य गोप्य विवरण नमाग्ने स्पष्ट पारेको छ ।

बैंकले अपरिचित व्यक्तिबाट आएका फोन, इमेल वा सन्देशमा विश्वास नगर्न र कुनै पनि गोप्य जानकारी साझा नगर्न ग्राहकलाई आग्रह गरेको छ ।

यदि कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको बैंक शाखा वा बैंकका आधिकारिक सम्पर्क नम्बरमा जानकारी गराउन तथा बैंकको आधिकारिक वेबसाइटबाट प्रकाशित सूचना मात्रै विश्वास गर्न पनि बैंकले अनुरोध गरेको छ ।

बैंकले सुरक्षित बैंकिङ सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै डिजिटल ठगीबाट जोगिन सबै ग्राहकलाई सचेत र सजग रहन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?