काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय खाता बन्द गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन २०५८’ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले एकीकृत निर्देशन २०८२ मा संलग्न तालिका बमोजिम निष्कृय खाताको न्यूनिकरण गर्न भनेको हो । ती बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्कृय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाइ आगामी पुस मसान्तसम्म लागू गर्न भनिएको छ ।
‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेका निष्कृय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाइ २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्नेछ,’ राष्ट्र बैंकले भनेको छ ।
यसरी खाता बन्द गर्दा सम्बन्धित खातावालालाई फोन कल, म्यासेज वा ईमेल गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय खातालाई पुनः सक्रिय गराउनका लागि कम्तिमा ६ महिनाको अवधिको अन्तरालमा फोन, एसएमएस वा ईमेल लगायतका माध्यमबाट सम्बन्धित ग्राहकलाई अनुरोध गर्ने र सोको अभिलेख राख्नुपर्ने समेत राष्ट्र बैंकको निर्देशन रहेको छ ।
त्यसो त ग्राहक वा खातावालले देशका जुनसुकै शाखाबाट खाता खोलेको भए पनि उनीहरुलाई नेपालको जुनसुकै शाखा कार्यालयबाट खाता बन्द गर्ने व्यवस्था मिलाउन समेत बैंक तथा वित्तीय संस्थालाई भनिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय भई पुनः सञ्चालन भएका खातामा हुने अस्वभाविक कारोबारको निगरानी गर्ने प्रणालीको विकास गर्न समेत भनिएको छ ।
‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय खाता, सोको प्रयोग गरी हुनसक्ने मंकी म्यूल कारोबार तथा वित्तीय अपराधको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न नियमित रुपमा विभिन्न सामग्री निर्माण गरी प्रसारण गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया