काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले गरिब नागरिकको हितभन्दा अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रीत भएर नीति तथा निर्णय गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता शाहीले गणेश नेपालीको मृत्यु राज्यको गलत नीति र निर्णयको परिणाम भएको दाबी गर्दै यस्ता निर्णयका कारण गरिब नागरिक बाँच्नै नसक्ने अवस्था सिर्जना भएको बताए ।
उनले सरकारले गरिब, श्रमिक, निमुखा र अपहेलित नागरिकको संरक्षण गर्नुपर्ने भए पनि व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको आरोप लगाए । सरकारका ऐन, नियम, नीति तथा मन्त्रिपरिषद्का निर्णयहरू हुनेखाने वर्गको पक्षमा केन्द्रीत रहेको उनको भनाइ थियो ।
शाहीले सरकार वास्तवमा गरिब जनतालाई आवश्यक पर्ने संस्था भए पनि अहिले सरकार धनी वर्गको हितमा मात्रै काम गरिरहेको टिप्पणी गरे । ‘जसको खल्तीमा पैसा छ, उसले नेपालमा बाँच्न पाउँछ, जसको खल्तीमा पैसा छैन, उसले बाँच्न पाउँदैन भन्ने सन्देश सरकारका नीति तथा कार्यक्रमले दिइरहेको छ,‘उनले भने ।
गणेश नेपालीको आत्मदाह प्रयास र उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै शाहीले त्यसको नैतिक जिम्मेवारी राज्यले लिनुपर्ने धारणा राखे ।
उनले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै काठमाडौं शहर अर्बपति र करोडपतिहरुको मात्रै हो कि गरिब, श्रमिक र सर्वहारा वर्गको पनि हो भन्ने प्रश्न गरे । गरिब नागरिकलाई राजधानीमै सम्मानपूर्वक बाँच्ने वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको माग थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया