‘गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ’

लोकपथ
7
Shares

काठमाडौं । नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुब्बाले मोटरसाइकल पार्किङ गरेको भन्दै कडा जरिवाना असुल गरिएकै कारण गणेश नेपाली आत्मदाहको निष्कर्षमा पुगेको आफन्तको भनाइ रहेको उल्लेख गर्दै यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् ।

उनले गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको मृत्यु मात्र नभई राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि गम्भीर प्रश्न उठाउने घटना भएको टिप्पणी गरिन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरिन् ।

सांसद सुब्बाले भनिन्, ‘मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिवाना गरी अत्यन्तै तनाव दिएको कारण आत्महत्याको निष्कर्षमा पुगेको गणेश नेपालीको आफन्तको भनाइ छ । गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्दछ। यो मृत्यु केवल एउटा व्यक्तिको मृत्यु मात्रै होइन, यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो। घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न म जोडदार माग गर्दछु ।’

त्यसै क्रममा उनले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नरहेको आरोप पनि लगाइन् । संसदमा उपस्थित भएर जनचासोका विषयमा स्पष्ट जवाफ दिनुपर्ने दायित्वबाट प्रधानमन्त्री पन्छिन नमिल्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?