काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको मृत्यु प्रकरणमा प्रधानमन्त्री बालेन्द्र साहको मौनताप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक जना युवाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा पनि सरकार संवेदनशील बन्न नसकेको आरोप लगाइन् । उनले प्रधानमन्त्री साहलाई प्रश्न गर्दै भनिन्, ‘विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज सरकारको नेतृत्वमा हुँदा किन मौन हुनुहुन्छ ?’
थापाले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई तत्काल उद्धार गर्न एम्बुलेन्ससमेत उपलब्ध नगराइएको भन्दै सरकारले अपराधीसरह व्यवहार गरेको आरोप लगाइन् । उनले राज्य नागरिकको जीवन बचाउनभन्दा सामाजिक सञ्जालमा ‘लाइभ’ प्रसारणमा केन्द्रित भएको टिप्पणी गरिन् ।
उनले नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउनु राज्यको असफलताको संकेत भएको बताउँदै यस्ता घटनाहरू बारम्बार दोहोरिनुको कारणबारे सरकारसँग जवाफ मागिन् ।
थापाले सरकार नागरिकको सुरक्षाप्रति गम्भीर हुन नसकेको दाबी गर्दै अब ‘कालो चश्मा खोल्ने बेला आएको’ टिप्पणी गरिन् । साथै, साझा यातायातको बसमा नयाँ रङ पोत्दैमा नागरिकले सुरक्षा महसुस गर्न नसक्ने भन्दै सरकारले देखावटी कामभन्दा जनताको सुरक्षा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया