काठमाडौं महानगरको १९औँ नगरसभाले के-के निर्णय गर्‍यो ?

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन तथा नगरसभा छैटौँ बैठकसँगै सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको अधिवेशनले विभिन्न संशोधन विधेयक, वार्षिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई टुंगो लगाउँदै समापन भएको हो ।

अन्तिम बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयक र विभिन्न समितिका वार्षिक प्रतिवेदनमाथि छलफल गरिएको थियो । विधायन समितिकी सदस्य हुमादेवी आचार्यले संशोधन विधेयकका प्रस्तावित व्यवस्थाहरू प्रस्तुत गरेकी थिइन् ।

छलफलका क्रममा नगरसभा सदस्यहरू विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले आफ्ना धारणा राखेका थिए । सदस्यहरूले दिएका सुझाव र लिखित संशोधन प्रस्तावलाई समेट्दै सभाध्यक्ष तथा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्णयार्थ प्रस्ताव पेस गरेकी थिइन् ।

नगरसभाले न्यायिक समिति, लेखा समिति र सुशासन समितिका वार्षिक प्रतिवेदन पनि सदस्यहरूको सुझाव समेटेर सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रस्तावहरू सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डङ्गोलले नगरसभाको अधिवेशन सम्पन्न भएको घोषणा गर्दै स्वीकृत नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमार्फत महानगरवासी, मतदाता तथा राजधानीमा आश्रित नागरिकको हित, सुविधा र सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिन् ।

यसअघि असार १ गते बसेको दोस्रो बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्रमा आधारित १०१ बुँदे नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको थियो ।

त्यस्तै, असार ४ गतेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । सोही बैठकमा आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?