वर्षायाममा बीपी राजमार्ग नरोकिने, रोकिए पनि आधा घण्टामै खुलाइने

लोकपथ
0
Shares

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब सडक अवरुद्ध भए अधिकतम ३० मिनेटभित्र सवारी सञ्चालन पुनः सुचारु गर्ने तयारी गरिएको

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार वर्षायामलाई लक्षित गर्दै पुनर्निर्मित ट्र्याकबाट केही दिनभित्रै पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ । आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएकाले विपद्का कारण सडक अवरुद्ध भए पनि छोटो समयमै खुलाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार साविककै स्थानमा पुनर्निर्माण गरिएका अधिकांश सडकखण्डबाट अहिले नै सवारी सञ्चालन भइरहेको छ । यसअघि रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाउने गरेकाले वर्षा हुनेबित्तिकै राजमार्ग अवरुद्ध हुने समस्या थियो ।

हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरी ग्राभेल तथा ठूला ढुंगा प्रयोग गरेर सडकलाई थप सुरक्षित बनाइएको छ ।

विसं २०८१ असोजको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसबेला सवारी सञ्चालनका लागि बनाइएका अस्थायी डाइभर्सनसमेत बाढीले पटकपटक बगाएको थियो ।

क्षतिग्रस्त चार खण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक पुनर्निर्माणको जिम्मा जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले लिएको छ । उक्त खण्डमा माटो भर्ने र ठूला ढुंगा राख्ने काम भइरहेको छ । समग्र पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरिएको छ ।

पुनर्निर्माणपछि सडक दुई लेनको बनाइनेछ । हाल रहेको पुलसँगै नयाँ पुल निर्माण गरिने तथा पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ । कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकमध्ये ३.२ किलोमिटर सडक पुनर्निर्माणका लागि जाइकाले दुई अर्ब ६३ करोड अनुदान सहयोग उपलब्ध गराउने समझदारी भएको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३र५४ देखि निर्माण सुरु भएको १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौंसँग जोड्ने महत्वपूर्ण सडकमार्गका रूपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?