‘सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास’

लोकपथ
742
Shares

काठमाडौं । काठमाडौंस्थित राहदानी विभाग अगाडि पार्किङ जरिवानाको विषयलाई लिएर एक युवकले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको प्रतिनिधि सभा बैठकमा मुगु जिल्ला सोरु गाउँपालिका–११ का २२ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासको विषय उठाउँदै घटनाका दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद शाहीका अनुसार गणेश नेपाली राहदानी बनाउन बिहीबार बिहान करिब ११ बजे राहदानी विभाग पुगेका थिए । विभाग परिसरमा पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ताला लगाएर १० हजार रुपैयाँ जरिवाना तिराएपछि उत्पन्न मानसिक तनावका कारण उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

घटनामा गणेश नेपालीको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ । हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा अचेत अवस्थामा उपचार भइरहेको सांसद शाहीले जानकारी गराए ।

सदनमा बोल्दै उनले भने, ‘कुनै पनि जरिवाना वा प्रशासकीय कारबाही नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन । कानुनको कार्यान्वयन आवश्यक छ, तर मानवीय संवेदनशीलतालाई पनि उत्तिकै महत्व दिनुपर्छ । आत्मदाहको अवस्थासम्म पुग्न बाध्य बनाउने दोषीमाथि कारबाही होस् र यस्ता हृदयविदारक घटना दोहोरिन नदिन प्रभावकारी कदम चालियोस् ।’

सांसद शाहीले सरकारले जरिवानाका नाममा जथाभावी रकम असुल्ने प्रवृत्तिले नागरिकमा चरम निराशा बढाएको आरोप लगाए । उनले यस्ता प्रतिनिधिमूलक घटनाले भविष्यमा अझ गम्भीर अवस्था निम्त्याउन सक्ने चेतावनी दिँदै जरिवानाको दर पुनरावलोकन गर्न, नागरिकमैत्री र न्यायपूर्ण व्यवस्था लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?