काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले संविधानको संशोधन विधि र प्रक्रियाअनुसार मात्रै सम्भव हुने बताएकी छन् ।
बिहीबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै उनले वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत मुलुकमा राजनीतिक रूपान्तरण गरेको उल्लेख गर्दै यसको रक्षा, संरक्षण र कार्यान्वयनका लागि संविधानसम्मत प्रक्रिया अपनाउनुपर्ने बताइन् ।
उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यक संशोधन पनि विधि, प्रक्रिया र संवैधानिक व्यवस्थाअनुसार मात्रै हुनुपर्ने धारणा राखिन्। संविधानका न्यूनतम आधारभूत मूल्य, मान्यता र उपलब्धिहरूको संरक्षण गर्दै नेपाली कांग्रेसले आफ्नो दृष्टिकोण तय गरिरहेको उनको भनाइ थियो ।
उपसभापति भुसालले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न पार्टी नेतृत्वसँग आग्रह गरिन्। वडा अध्यक्षदेखि पालिका प्रमुख, प्रदेश सभा र प्रतिनिधि सभासम्म प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन कांग्रेसले ठोस निर्णय गर्नुपर्नेमा उनले जोड दिइन् ।
उनले विगतमा प्रतिनिधि सभामा महिला उम्मेदवारको संख्या पाँचबाट ११ पुगे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै पार्टीको संगठनात्मक संरचनामा समेत समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् ।
भुसालले पार्टी सभापतिले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा छ जना महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने घोषणा सकारात्मक भएको उल्लेख गर्दै त्यसलाई अझ विस्तार गरी सबै तहका प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने अभ्यास सुरु गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
उनले नेपाली कांग्रेस संविधानका न्यूनतम आधारभूत मूल्य र मान्यतालाई आत्मसात गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको संरक्षण तथा राजनीतिक रूपान्तरणका उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया