काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास र लगानी वातावरण सुधारका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रसहित सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए ।
महासङ्घका पदाधिकारीहरूले निर्माण व्यवसायीले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया