आज रातिदेखि देशभरका सरकारी खाता बन्द हुँदै

लोकपथ
11.2k
Shares

काठमाडौं । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा सरकारले सबै सरकारी खाता आज राति देखि बन्द गर्ने भएको छ ।

आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि सरकारी खाता बन्द गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आज असार २५ गते राति १२ बजेदेखि देशभरका सरकारी खाता बन्द हुने भएका हुन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघिसरकारी खाता ‘फ्रिज’ गर्ने व्यवस्था छ ।

त्यसअनुसार अबको सात दिन संघ, प्रदेश र स्थानीय तहका सरकारी खाता बन्त हुनेछन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२ र ८३ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति १२ बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ ।

अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपत्कालीन खर्चका लागि निकासा खुला गर्न सकिने छ ।

आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

हिजोसम्म सरकारले कुल बजेटको ८ प्रतिशत अर्थात १५ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ। त्यसमध्ये पूँजिगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड अर्थात ४० प्रतिशत मात्र भएको छ । चालु खर्च भने ८७.२५ प्रतिशत अर्थात १० खर्ब ३० अर्ब छ । सरकारको राजश्व संकलन पनि कमजोर देखिएको छ ।

त्यस्तै हिजोसम्म १० खर्ब ५१ अर्ब अर्थात ७९ प्रतिशत मात्र राजश्व संकलन भएको छ । सरकारले १३ खर्ब राजश्व उठाउने लक्ष्य लिएको थियो । अनुदानसहितको कुल आम्दानी पनि ७७ प्रतिशतमै सीमित भएको छ ।

आज भुक्तानीको चाप निकै रहेकोले भरे राति १२ बजेसम्म थप बढ्ने अनुमान छ । सरकारी खाताबाट हिजो एकैदिन ११ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै अस्ति मंगलवार ११ अर्ब ७६ करोड २२ लाख, सोमबार २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको थियो । तर यस्तो खर्चमा चालूतर्फको भुक्तानी उल्लेख्य रहे पनि विकासे बजेट भनिने पूँजीगततर्फको भुक्तानी कमजोर छ ।

आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभागलगायत निकाय र यसअन्तर्गतका कार्यालयमा भुक्तानी प्रक्रिया टुङ्ग्याउने व्यस्तता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?