काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी आर्थिक वर्ष २०८३/८४ को पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुरु गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बजेट र कार्यक्रम संसदबाट पारित भइसकेकाले अब सरकारको सम्पूर्ण ध्यान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए ।
सांसद गजुरेलले साउन १ गतेदेखि नै विकास आयोजनाका बोलपत्र (टेन्डर) आह्वान हुनुपर्नेमा जोड दिँदै विकास निर्माणका सूचना समयमै सार्वजनिक गर्न आग्रह गरे । उनले स्पष्ट कार्ययोजनासहित अघि बढ्न सरकारलाई सुझाव दिँदै पुँजीगत खर्चको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
उनले विगतमा जस्तै योजना बिना काम गर्दा आर्थिक वर्षको अन्त्यमा न्यून पुँजीगत खर्च हुने र त्यसले सरकारप्रति जनविश्वास कमजोर बनाउने बताए ।
उनले भने, ‘साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेन्डरले भरिनुपर्छ। आवश्यक परे पाना थप गरेर भए पनि सूचनाहरू प्रकाशित हुनुपर्छ। यसो भएमा मात्र पुँजीगत खर्च बढाउन र विकासका योजनालाई गति दिन सम्भव हुन्छ ।’
गजुरेलले सुरुदेखि नै व्यवस्थित कार्यान्वयन प्रक्रिया अपनाए मात्र बजेटका लक्ष्य हासिल गर्न सकिने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया