भक्तपुरको जिरे खुर्सानी दरबारमा हानिकारक जीवाणु मासुमा भेटियो, २ लाख ५ हजार जरिवाना

लोकपथ
714
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको मध्यपुर थिमीस्थित जिरे खुर्सानी दरबारलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागका अनुसार उपभोक्ताको स्वास्थ्यमा जोखिम हुने गरी असुरक्षित मासु प्रयोग गरेको पाइएपछि उक्त कारबाही गरिएको हो ।

असार २१ गते उजुरी परेपछि खाद्य विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले रेस्टुरेन्टमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा करिब १५.२ किलो कुखुराको काँचो मासु, ५ किलो तन्दुरीका लागि तयार गरिएको मासु र स्रोत नखुलेको करिब १८ किलो मासुको बिक्री, वितरण र प्रयोग रोकिएको थियो ।

ती मासुको नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । परीक्षणमा मासुमा मानव स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीवाणु भेटिएपछि विभागले पुनः अनुगमन गरी सबै मासु नष्ट गरेको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार असुरक्षित खाद्य पदार्थ बिक्री तथा प्रयोग गरेको ठहर गर्दै विभागले जिरे खुर्सानी दरबारलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?